Blog

  • स्थानीय तहको निर्वाचनमा १ करोड ८० लाख मतदाता १८ वर्ष पुगेकाले भोट हाल्न पाउने

    स्थानीय तहको निर्वाचनमा १ करोड ८० लाख मतदाता १८ वर्ष पुगेकाले भोट हाल्न पाउने

    आइतबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी पाए अनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता हुने निर्वाचन आयोगले जनाएको छ ।

    साथै आगामी वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरिएको जानकारी दिइएको छ ।

    निर्वाचन आयोगको अनुसार २०७४ को निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ जना मतदाता कायम रहेको थियो ।

    पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन आयोगले आगामी शनिबार विभिन्न कार्यक्रमको आयोजना गरी निर्वाचन दिवस मनाउने जनाएको छ ।

  • फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४मा सार्न प्रचण्ड र नेपालको प्रस्ताव

    फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४मा सार्न प्रचण्ड र नेपालको प्रस्ताव

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    उक्त भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान रु ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्नुका साथै स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा परामर्श भएको हो ।

    छलफलमा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गर्नुभएको उनका स्वकीय सचिव गङ्गा दाहालले बताएका छन् ।

  • हिउँका कारण अवरुद्ध जोमसोम लोमन्थाङ सडक खुल्यो

    हिउँका कारण अवरुद्ध जोमसोम लोमन्थाङ सडक खुल्यो

    बाक्लो हिमपातले गर्दा पछिल्लो एक हप्ता देखि अवरुद्ध भएको मुस्ताङको जोमसोम लोमन्थाङ सडकमा हिउँ पन्छाएर शुक्रबारदेखि सवारी सञ्चालन भएको छ ।

    लो–घेकर दामोदर कुण्ड गाउँपालिकाले जमेका बाक्लो हिउँ डोजरको सहायताले पन्छाएपछि जीप, ट्रक र ट्याक्टर चल्न थालेको छ ।

    हिउँ जमेर सडक अवरुद्ध भएपछि अलपत्र परेर बीचमै रोकिएका खाद्यान्न तथा मालसामान र विकास निर्माणका सामग्री बोकेका सवारीसाधन तथा यात्रा गरिरहेका सर्वसाधारणहरु आ–आफ्नो गन्तव्यतर्फलाग्ने क्रम जारी छ ।

    गाउँपालिकाका जनप्रतिनिधिहरु आफै फिल्डमा गएर हिमपात पन्छाएका हुन् ।

  • संखुवासभाको मकालुमा बेलिब्रिज भाँचिदा तीनवटा ट्रक अरुण नदीमा खसे

    संखुवासभाको मकालुमा बेलिब्रिज भाँचिदा तीनवटा ट्रक अरुण नदीमा खसे

    संखुवासभाको मकालु गाउँपालिका–५ को नुम र वडा नम्बर–१, वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको छ ।

    संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा को भनाइ अनुसार हिजो शनिबार दिउँसो निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री बोकेको तीनवटा ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको हो ।

    उक्त बेलिब्रिज भाँचिएपछि तीनवटा ट्रक अरुण नदीमा खसेको प्रजिअ खतिवडाको भनाइ छ ।

    ट्रकमा सवार चालक र सहचालक सकुशल रहेको तथा आवतजावत ठप्प भएको कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए ।

  • बिश्व रेडियो दिबस

    बिश्व रेडियो दिबस

    संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक बर्ष फेब्रुअरी १३ मा बिश्व रेडियो दिबस मनाउँदै आएको पाइन्छ । रेडियो आम नागरिकको लागि सर्भसुलभ एबम् सर्वव्यापी सञ्चार माध्यम भएकाले यसलाई थप प्रभावकारी बनाउने उदेश्यले बिश्व रेडियो दिबस मनाउँदै आएको हो ।

    जानकारहरुको भनाई अनुसार सन् १८९५मा इटालीका बैज्ञानिक जी. मार्कोनीले रेडियोको आविष्कार गरेका हुन् । नेपालमा २००३ सालमा काठमान्डौँमा रेडियो प्रसारण सुरु भएतापनि औपचारिक रुपमा भने बि.सं २००७ साल मंसिर २८ गते देखि प्रजातन्त्र रेडियोको नाममा रेडियो सञ्चालन भएको हो ।

    त्यसैगरि एफएम रेडियोको प्रसारण २०५२ सालदेखि भएको हो । बिश्व रेडियो दिबस बिशेष गरी बिभिन्न कार्यक्रमहरु सञ्चालन गरी रेडियोकर्मीहरुले मनाउँदै आएका छन् । नयाँ नयाँ प्रविधि बिकास सङ्गै रेडियोको बजार कमजोर हुँदै गएको तथा रेडियोकर्मी प्रति आम नागरिकको सम्मान घट्दै गएको देखिन्छ ।

    तसर्थ रेडियोको प्रभाव बढाउन तथा रेडियोकर्मीको सम्मानको लागि बिश्व रेडियो दिबस महत्वपूर्ण मानिन्छ । बि.सं २०७२ सालको बिनाशकारी भुकम्प र कोरोना महामारीमा समेत रेडियो मार्फत सूचना प्रसारण गरी रेडियोकर्मीहरुले रेडियोलाइ अझ प्रभावकारी र भरपर्दो सञ्चार माध्यम बनाएका छन् । प्रत्येक बर्ष बिश्व रेडियो दिबस मनाइरहँदा रेडियोकर्मीहरुमा थप हौसला र काम प्रतिको रुची बढ्दै गएको देखिन्छ ।

  • वैशाख २९ सम्म १८ वर्ष पुग्ने नेपालि नागरिकले मतदान गर्न पाउने निर्णय

    वैशाख २९ सम्म १८ वर्ष पुग्ने नेपालि नागरिकले मतदान गर्न पाउने निर्णय

    निर्वाचन आयोग पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले २०७९ वैशाख २९ गतेसम्म १८ बर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ ।

    ऐनले कहिलेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्ति मतदान गर्न पाउने मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै दिएको छ । मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ६ ले निर्वाचन आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मतदाता हुने व्यवस्था उल्लेख गरेको छ ।

    मन्त्रिपरिषद्ले माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइसकेको छ ।

  • काँग्रेसको बाँकी रहेका १६ वटा जिल्लाहरुको अधिवेशन आगामी फागुन १३ गते हुने

    काँग्रेसको बाँकी रहेका १६ वटा जिल्लाहरुको अधिवेशन आगामी फागुन १३ गते हुने

    सत्तारुढ दल नेपाली काँग्रेसको कोरोना महामारीका कारण हुन नसकेको १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते हुने भएको छ ।

    शुक्रबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले बाँकी रहेका १६ वटा जिल्लाहरुको अधिवेशन फागुन १३ मा गर्ने निर्णय गरेको हो ।

    विज्ञप्तिमा उल्लेख भएअनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन आगामी फागुन १३ गते गर्ने उक्त बैठकले निर्णय गरेको हो ।

    साथै छुटेका वडा, पालिका तहका अधिवेशन भने फागुन १० गतेभित्र गर्ने निर्णय भएको छ ।

  • दक्षिण कोरियामा संक्रमण दर बढेपछि श्रमिक लैजान प्रतिबन्ध

    दक्षिण कोरियामा संक्रमण दर बढेपछि श्रमिक लैजान प्रतिबन्ध

    दक्षिण कोरियामा केही दिनदेखि पुनः कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलिरहेको कारण नेपाल लगाएत अन्य मुलुकका श्रमिक लैजान रोक लगाएको छ ।

    वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भएर रोकिएका श्रमिकहरूको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् ।

    संक्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरूलाई तत्काल पठाउने व्यवस्था गर्ने पनि उनको भनाइ छ ।

  • भीमा एकादशी ब्रत

    भीमा एकादशी ब्रत

    महाभारत काल देखि नै धार्मिक दृष्टिकोणले अत्यन्त महत्व बोकेको भीमा एकादशी माघ शुक्ल पक्ष तिथिमा पर्दछ । यसलाई जया एकादशी पनि भनिन्छ । शास्त्रमा उल्लेख भए अनुसार भीमा एकादशीको ब्रत बसेमा मनुष्यले भोग र मोक्ष प्राप्त गर्छन् ।

    यस एकादशीको दिन धुप, दिप, तथा नैवेदले भगवान बिष्णुको पूजा आराधना गरिन्छ । रात्री जाग्राम बसी बिष्णुको किर्तन गर्ने पनि चलन छ । सुनसरीको बराह क्षेत्रमा आज भक्तजनहरुकोे भिडभाड हुने गर्दछ ।

    पौराणीक कथामा उल्लेख भए अनुसार कुन्ती पुत्र भीमले यस ब्रत बसेको कारणले यस एकादशीको नाम भिमा एकादशी बन्न पुगेको हो । यस एकादशीको ब्रत बसेमा सुनको चोरी, सुरापान, ब्रम्ह हत्या, जस्ता पापहरुबाट समेत मुक्त भई पुण्य प्राप्त हुने धार्मिक बिश्वास छ ।

  • महामारी अन्त्य भएको  स्विडेन सरकारको घोषणा

    महामारी अन्त्य भएको स्विडेन सरकारको घोषणा

    बुधबार देखि स्विडेन सरकारले कोभिड(१९ महामारी अन्त्य भएको भन्दै देशभर लगाइएको लकडाउन र कोभिडविरुद्धको सबै प्रतिबन्धसमेत हटाइसकेको छ।

    वैज्ञानिकहरुले भने महामारी अन्त्य नभएको चेतावनी दिएका छन् । स्विडेनकी स्वास्थ्य मन्त्री लिना हलिनग्रेन भन्छिन् ‘कोभिड महामारीसँग हामी सबै जुधिरहेका छौं।

    तैपनि म भन्छु महामारी अन्त्य भइसक्यो। त्यसैले हामीले सबै प्रतिबन्धहरु हटाउने निर्णय गरेका हौं, साथै स्विडेन सरकारले महामारी अन्त्यको घोषणा गरे संगै नागरिकलाई सामान्य अवस्थामा फर्किन समेत आग्रह गरेको छ।