Author: Dwarika Pokhrel

  • कोभिड–१९ खोपका लागि रुसमा पत्राचार

    कोभिड–१९ खोपका लागि रुसमा पत्राचार

    रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारले आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ ।

    सरकारले हालै रुसको सरकारी खोप निर्माण कम्पनीलाई खोपसम्बन्धी आवश्यक कागजातसहित विस्तृत जानकारी पठाउन अनुरोध गर्दै पत्राचार गरेको हो ।

    राष्ट्रिय खोप सल्लाहकार समिति, स्वास्थ्य सेवा विभागको सिफारिसअनुरुप खोपसम्बन्धी थप कागजात एवं दस्तावेज उपलब्ध गराउन कम्पनीलाई आग्रह गर्दै कागजात प्राप्त भएपछि समिति समक्ष प्रस्ताव गरिने विषय पत्रमार्फत उक्त कम्पनीलाई जानकारी गराइएको छ ।

    रुसमा रहेका नेपालीको सहयोग र सम्पर्कका आधारमा उत्पादक संस्था गामालियाले नेपाल सरकारसँग समन्वय गरेपछि नेपाली संस्था रियालन्स ट्रेड एण्ड इन्भेस्टमेन्ट कम्पनी प्रा.लि.ले हाल सहजीकरण गरिरहेको जनाइएको छ।

  • बुस्टर डोज निःशुल्क दिने तयारीमा सरकार

    बुस्टर डोज निःशुल्क दिने तयारीमा सरकार

    स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनोविरुद्धको खोप लगाउन मिल्ने सम्पर्ण नागरिकलाई सरकारले ‘बुस्टर’ डोजसमेत निःशुल्क प्रदान गर्न तयारी सुरु भएको बताएका छन् ।

    निःशुल्क खोप दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा मन्त्रालयले तयारी थालिसकेको मन्त्रीले जानकारी दिए । उनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पत्ता लागेसँगै संक्रमणको नियन्त्रण तथा रोकथामका लागि बुस्टर डोज महत्त्वपूर्ण हुने देखिएपछि सबैलाई निस्शुल्क लगाउने निर्णयमा सरकार पुगेको बताए ।

    मन्त्री खतिवडाका अनुसार मन्त्रालयले कुन खोपलाई बुस्टर डोजका रुपमा लगाउने भनेर छलफल भइरहेको पनि बताए ।
    उनका अनुसार हाल पहिलो र दोस्रो डोजको खोप लगाउने कार्य अगाडि बढिरहेको र सँगै १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई पनि खोप लगाउनुपर्ने भएकाले तत्काल बुस्टर डोज लगाउन सुरु गर्न केही ढिलाई भएको हो ।

  • आन्दोलित कानन व्यवसायी र एमाले अध्यक्ष ओलि बिच भेट

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै विरोधमा रहेको नेपाल बार एसोसिएसनको टोली प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

    भेटमा एमालेका संसदीय दलका उपाध्यक्ष सुवास नेवाङ र उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी छन् ।

    बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा बारका उपाध्यक्ष, महासचिव लिलामणी पौडेल, कोषाध्यक्ष रुद्र पोखरेल, पाँच जना सदस्यहरू, पूर्वअध्यक्षहरू शम्भु थापा, पूर्वमहासचिव रमण श्रेष्ठलगायतका कानुन व्यवसायी बालकोट पुगेका हुन् ।

    नेपाल बार एसोसिएसनको टोलीले आजको भेटमा प्रधानन्यायाधीश जबराविरुद्ध १७ अभियोग समेटिएको ज्ञापनपत्र अध्यक्ष ओलीलाई बुझाएका छन्।

  • भारतमा ओमिक्रोनको तेस्रो केस

    भारतमा ओमिक्रोनको तेस्रो केस

    कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट थप एक जना संक्रमित भेटिएका छन् । भारतीय अधिकारीहरुका अनुसार दुई दिनअघि जिम्बाब्वेबाट भारत आएका व्यक्तिलाई गुजराजको जामनगरमा ओमिक्रोन संक्रमित भेटिएका हुन्।

    विमानस्थलमै उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। जीनोम सिक्वेन्सिङ गर्दा उनमा ओमिक्रोन संक्रमण देखिएको अधिकारीहरुले बताएका छन्।

  • राप्रपा निर्वाचन – कमल थापाविरुद्ध राजेन्द्र लिङ्देन भिड्दै

    राप्रपा निर्वाचन – कमल थापाविरुद्ध राजेन्द्र लिङ्देन भिड्दै

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन शनिबार बिहान ८ बजेदेखि भृकुटीमण्डपमा सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहेको छ।

    महाधिवेशनमा अध्यक्षसहित ८ जना पदाधिकारीका लागि निर्वाचन हुने भएको हो। अध्यक्ष, उपाध्यक्ष र महामन्त्री गरी १६ जनाको उम्मेदवारी परेको छ।
    अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्‍देन भिडन्त छ भने उपाध्यक्षमा जगतप्रसाद गौचन,रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी झाले उम्मेदवारी दर्ता गराएका छन्।

    यस्तै, महामन्त्रीका लागि रेखा थापा, डा धवल शमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भस्कर भद्रा र कुन्तीकुमारी शाहीले उम्मेदवारी दर्ता गराएका छन्। राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरू १ सय ४१ केन्द्रीय सदस्य निर्वाचनबाटै आउनेछन्।

    राप्रपाको १४९ सिटका लागि २६४ जनाको उम्मेदवारी दर्ता भएको छ।

  • कक्षा १२ को नतिजा प्रकाशित

    कक्षा १२ को नतिजा प्रकाशित

    शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ।

    बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको हो । परिक्षामा नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना परीक्षामा सहभागी भएका थिए ।

    बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरमा कक्षा १२ को परीक्षा लिएको थियो। परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउँदै होम सेन्टरमा सञ्चालन भएको थियो।

    कक्षा १२ को नतिजा हेर्नका लागि एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ मा गएर नतिजा हेर्न मिल्छ।

  • आत्मा

    आत्मा

    आत्मा अपरिवर्तनशील, सर्वव्यापी, अजन्म, अव्यक्त, विकार रहित हुन्छ ।
    सम्भवत ः आत्मा परमात्माको कुनै रुप हुनुपर्दछ । धर्मशास्त्र अनुसार आत्मालाई नास गर्न सकिदैन । आत्मा अमर सत्य हो भन्ने सिद्दान्त अनुरुप जस्तै कागज बाल्दा आगो र खरानि बन्दछ त्यस्तै शक्ति एकरुप बाट अर्को रुपमा परिवर्तन हुन्छ । आजका वैज्ञानिकहरु पनि आत्मा एक चेतना हो भन्ने विश्वास गर्दछन् । आत्माबाट नै शरीर चेतनशील अवस्थामा हुन सक्दछ ।

    प्रत्येक मानिसमा यो कौतुहलता हन सक्दछ कि आत्मा शरीरको मृत्यु पश्चात कहाँ रहन्छ ?
    श्रीमदभागवत गीताका अनुसार आत्माले पुरानो शरीर छोडेपछि कुनै नयाँ शरीरमा चेतनाको रुपमा धारण गरेर बस्दछ । आत्मा अविनाशी परमात्माको अंश हो त्यसैले आत्मा भौतिक सिमा भन्दा बाहिर छ वा मोक्ष प्राप्त गरी ब्रम्हाण्डको अर्को कुनै ठाउँमा रहन्छ भन्ने व्याख्या भेटिन्छ ।
    यस्तैमा हिन्दु धर्म ग्रन्थ ‘गरुड पुराण’ मा उल्लेखित भाव अनुसार एक शरीरको मृत्यु पश्चात आत्मालाई यमदुत लिन आउँछन् । जीवनकालमा गरेका कर्म अनुसार आत्मालाई केहि समय राख्दछन् र पछि आत्माले आफ्नो यात्रा शुरु गर्दछ ।

    सर्वद्धाराणि संयम्य मनो दृदि निरुध्य च ।
    मूध्न्र्याधायात्मन ः प्राणमास्थितो योगधारणाम् ।।
    ओमित्यमाक्षरं ब्रम्हा व्याहरन्मामनुस्मरन् ।
    यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।।

    श्रीमदभागवत गीताको अनुसार सर्वश्रेष्ठ प्राणी भनेको त्यो मानव हो जसले आफ्ना ज्ञानेन्द्रीयलाई काबुमा राख्ने क्षमता राख्दछ । जस्तै की चिसो वा तातो वातावरणले छालामा खासै असर नहुने हिमालयमा तपस्या गरी रहेको योगी र सामान्य व्यक्तिमा भन्दा फरक क्षमताका हुन्छन् ।
    तपाईले बाटोमा हिड्दै गर्दा पसलमा हिराको हार देख्नु भयो, तपाइँलाई चोर्न मन लाग्यो तर तपाईको बुद्धिले रोक्यो कि चोर्नु हुदैन । त्यसैले इन्द्रिय भन्दा ठूलो मन र मन भन्दा ठूलो बुद्धि हो । र बुद्धि भन्दा अत्यन्तै ठूलो र विशाल आत्मा हो ।

    मानवको शरीर सुख, दुख, लोभ, मोह, सँग परिपुरक छ । अचम्मको कुरा के छ भने यस्ता मानविय समवेदनशीलता एक चेतन जीवमा मात्र लागु हुन्छ । किनकि सुख, दुख, प्रकृतिको नियम हो र शरीर प्रकृति अनुसार चल्दछ ।

    लेखक तथा सम्पादकई कुमार भट्टराई

  • किन गणेश को पुजा अगाडी गरिन्छ

    किन गणेश को पुजा अगाडी गरिन्छ

    हिन्दु धर्मावलम्बीहरुले हप्ताको साथै बार विभिन्न देवी देवताको पुजा गर्ने गर्दछन् । सोहि अनुरुप मंगलबार भगवान श्री गणेश को पुजा अराधाना गरिन्छ । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ।

    शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने,पुजागर्ने तिथि ,मिति ,बिधि ,बिधानमा एकरुपता छ । गणेश शब्दको उत्पत्ति गणंईश मिलेर भएको हो । जसको अर्थ हुन्छ गण हरूका देवता । शिवगणका प्रमुख गण नन्दी मानिएका छन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश मानिन्छन् ।

    एक पटक देवताहरूमा कसको पूजा पहिले गरिनु पर्छ भन्ने विषयमा छलफल चल्यो । देवताहरूका परम पिताम्मह ब्रह्माजीले जो पुरा ब्रह्माण्डको परिक्रमा गरेर पहिले स्वर्गमा पुग्छ त्यसको पूजा पहिले हुनेछ भन्ने निर्णय सुनाए । ब्रह्माजीको निर्णय सुनेर इन्द्र, वरुण, कुबेर आदी देवताहरू आफ्नो आफ्नो बाहनहरूमा बसेर ब्रह्माण्ड परिक्रमाको लागि निस्किए । भारी जिउ र त्यसमाथी मुसा बाहन भएका गणेश नत दौडेर देवताहरूलाई जित्न सक्थे नत मुसाले नै बोकेर गणेशलाई परिक्रमाको वाजी जिताउन सक्थ्यो । गणेश निकै चलाख र ज्ञानी देवता मानिन्छन् । त्यो वाजी जित्ने गणेशले एक दृढ विचार बनाए । उनी ब्रह्माण्ड परिक्रमामा नगएर कैलाश पर्वत आफ्नी माता पार्वती भएको ठाउँमा गए । माता पार्वतीलाई बाबु शिव भएको ठाउँमा गएर बस्न आग्रह गर्न थाले । गणेशको कुरा सुनेर पार्वतीजी शिवको छेउमा गएर बसिन् । यसरी आमा बाबु दुवैलाई एकै ठाउँमा राखेर सात पटक परिक्रमा गरेर ब्रह्माजी भएको ठाउँमा गए । ब्रह्माजीले गणेशले के गर्छन् भन्ने कुरा सबै हेरेका थिए । आमा बाबु भन्दा ठुलो यो ब्रमाण्ड छैन । ब्रह्माणड भन्दा पनि ठुला आमा बाबु हुन् भन्ने कुरा सिद्ध गरेर देखाएकाले ब्रह्माजी गणेशबाट निकै खुसी भएर उनलाई देवताहरूमा सबै भन्दा पहिले पूजिने देवता भनेर छनौट गरे । त्यसै कारण त्यस दिन देखि श्री गणेशको पुजा अराधाना सबै देवी देवताहरु भन्दा अगाडी गरिन्छ ।

  • अमेरिकाद्धारा उत्तर कोरियालाई वार्तामा आउन आग्रह

    अमेरिकाद्धारा उत्तर कोरियालाई वार्तामा आउन आग्रह

    संयुक्त राज्य अमेरिकाका वरिष्ठ कुटनितिज्ञले आइतबार उत्तर कोरियालाई वार्तामा आउन आग्रह गरेका छन् । उत्तेजनात्मक क्षेप्यास्त्र परिक्षण अन्त्य गरी तत्काल पुन वार्तामा आउन अमेरिकी कुटनितिज्ञ सुङ किमले उत्तर कोरियालाई आग्रह गरेका हुन् । उत्तर कोरियाली मामिलासम्बन्धी अमेरिकी शीर्ष नेता किमले दक्षिण कोरियाली अधिकारीहरुसँगको छलफलपछि आइतबार आग्रह गरेका हुन्।

    ‘उत्तेजक परिक्षण र अन्य सैन्य गतिविधि गर्नुको सट्टा सिधै वार्तामा आउन हामीले उत्तर कोरियासँग आग्रह गरिसकेका छौ, किमले रिपोर्टरहरुसँग भने,‘साथै यदि उत्तर कोरिया तयार भएमा अमेरिका बिना शर्त वार्तामा आउन तयार रहेको पनि हामीले स्पष्ट पारिसकेका छौ।’

    गएको मंगलबार उत्तर कोरियाले पनडुब्बीबाटै जापानको समुद्र क्षेत्रनजिक दुईवटा नवनिर्मित ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। सो प्रहारले जापान, कोरिया प्रायद्धिप आदि क्षेत्रमा तनाव बढ्ने भन्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले समेत बैठक राखेको थियो।

  • प्रदेश १ सभा बैठक स्थगित

    प्रदेश १ सभा बैठक स्थगित

    प्रदेश १ सभा बैठक अब कात्तिक १५ गते बस्‍ने भएको छ । आइतबार साढे बाह्र बजेका लागि बोलाइएको संसद् बैठक सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक स्थगित गर्न निवदेन दिएपछि कात्तिक १५ गते सोमबार दिउँसो साढे बाह्र बजे बस्‍ने गरी स्थगित भएको हो ।

    मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची थियो । एमाले विभाजन भएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
    सुरुमा कांग्रेसका मुख्य सचेतक केदार कार्कीले बाढी पहिरो निरीक्षण गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रहेको र त्यसमा सांसदहरु सहभागी हुन पर्ने भन्दै आइतबारको बैठक स्थगित गर्नका लागि माग गरेका थिए । प्रधानमन्त्री देउवा बाढी पहिरोले गरेको क्षति निरीक्षण गर्नका लागि पूर्वी क्षेत्रको भ्रमणमा रहेका छन् ।

    त्यस लगत्तै सत्तारुढ एमालेले पनि पार्टीको पालिका अधिवेशनको तयारी र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गरेको थियो ।

    एमालेको पालिका अधिवेशन मंगलबार एकै पटक हुँदैछ । त्यसैगरी, एमालेको दसौं महाधिवेशनको विषयमा छलफल गर्नका लागि शुक्रबारबाट एमाले केन्द्रीय कमिटीको बैठक हुँदैछ ।

    दुवै दलको लिखित रुपमा बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएका थिए ।

    बैठकपछि प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बैठक बस्ने मिति परिवर्तन भएको सूचना निकालेका थिए ।